एघार दिनको डायरी- सिमाना पौडेल
काठमाडौँ — ‘तपाईँहरुले बाहिर निस्कदाँ मास्क लगाउनु भएको छ ? बाहिरबाट घरभित्र पस्दा साबुनपानीले हात धुनु भएको छ ? कोरोनासम्बन्धी समाचारहरु पढेर आत्तिनुभएको छ ?’
चैत ११ गतेबाट सरकारले गरेको लकडाउन आज ११ औँ दिनसम्म लम्बिएको छ। दुई हप्ता गर्ने भनिएको लकडाउन अझै लम्बिनेछ। कोरोनाले हामीलाई प्रकृतिसँग नजिक हुन सिकाएको छ। कृषिसँग नजिक हुनुपर्ने पाठ पढाएको छ। हामीसँग केही नहुँदा या कोही नहुँदा पनि बाँच्नुपर्ने तरिका सिकाएको छ। होइन र? अब मेरो दिनैपिच्छेको मनोदशा हेर्नुस् है। देखेको, सुनेको सबै कुरा डायरीमा अटाउन सम्भव कहाँ हुनु।
पहिलो दिन
लकडाउन हुनुभन्दा दुई दिनअघि बहिनीको कलेज बिदा भयो। ऊ त्यो दिन हस्याङफस्याङ गर्दै आई। हामीले कोरोनाको बारेमा सुनेर पनि उत्ती गम्भीरताका साथ लिएका थिएनौं। उसले घर जाने कुरा गरी। ऊ साँच्चै डराएकी थिई। ममीबुवाको काखमा हुँदा सुरक्षित भइन्छ भन्ने उसलाई लाग्दो हो। काठमाडौं किन कहिल्यै आफ्नो लागेन मलाई आजसम्म थाहा छैन। हामी घर जान पाएनौं। (किन भनेर नसोध्नु है। सबै कुराको कारण हुँदैन। त्यस्तो पनि होइन, डायरीमा लम्बेतान कुरा लेखिरहन मन हुन्न।)
पहिलो दिन लकडाउन हुँदा हामीसँग स्टकमा खानेकुरा केही थिएन। धन्न दाल, चामल थियो। त्यो दिन हामी कोरोनाको बारेमा डराउने मान्छेहरुबारे खिल्ली उडाउँदै बस्यौँ। यत्तिसारो किन डराउनपर्ने हँ?
दोस्रो दिन
साँच्चै लकडाउन भयो। हामी एकराउण्ड बजारतिर डुलेर फर्कियौँ। किराना पसल र तरकारी पसलबाहेक सब बन्द। हामीले मार्टमा केही किन्न पाएनौँ। सधैँ खुलिरहने मेडिकल बन्द थियो। (हामीसँग मास्क थिएन। अहिले पनि छैन तर हामी कोठाबाट बाहिर निस्केका छैनौँ। केही पढ्न सक्ने, फिल्म हेरेर बस्न सक्ने गरी एकाग्रता पाइएको छैन।) हामीले किराना पसलबाट हप्ताभरीलाई पुग्ने सामान किनेर फर्कियौं। कतै कोरोना त हाम्रो घरभित्र छिरेन? हामीले साबुनपानीले हात धोयौं। साँच्चै धेरै डराइरहेका छौं।
तेस्रो दिन
कलेज जान नपाए कस्तो मज्जा हुन्थ्यो है? यस्तो भनिराख्ने बहिनी कलेज छिटै खुलोस् भनेर प्राथना गर्न थालेकी छ। साथीहरुसँग भेट नहुँदाको उसको छटपटी म बुझ्छु। घरी टिकटिक बनाउँछे। आज उसले मलाई पनि टिकटक बनाउन बाध्य पारी। ऊ एक्लै बस्नै चाहन्नँ। घरीघरी आउँछे र भन्छे– ‘दिदी ! हामी मर्यौ भने के हुन्छ? पृथ्वी ध्वस्त भयो भने के हुन्छ? म एसइई दिएर उतै पढेको भए यस्तो हुन्नथ्यो होला है? बुवाले भनेको नमानेर पो हो कि?’ उसले सबैकुरा एकैचोटी सम्झन्छे र मृत्युको मुखसम्म आफ्नो कल्पना पुर्याएपछि रोकिन्छे।
समय कसरी कटाउनु? धन्न फेसबुक छ। साथीहरु पुरानो फोटो खोजीखोजीकन उडाइरहेका छन्। हामीले आजदेखि अनलाईन लुडो खेल्ने भयौं। आज मज्जा आयो। साथीहरु सुत्दासुत्दा दिक्क भएको कुरा गरिराछन्। साँच्चै यो समय हामी केही कुरामा केन्द्रित हुनै सकिरहेका छैनौँ। फुर्सद पाएदेखि पढ्न हुन्थ्यो या फिल्म हेर्न हुन्थ्यो। अहँ यस्तो केही गर्नै सकेको छैन मैले।
चौथो दिन
अब अलि सहज महसुस भएको छ। घरभित्रै बसिरहने। सेल्फ क्वारेन्टाइनमा। सबै त्यहीँ गरिरहेका छन्। तर सबै हामी जसरी बस्न कहाँ सकेका छन् र? भोकै पो बसिराछन् कि? एक हप्तालाई लिएर आएको खानेकुरा लगभग सकिन लागेको छ। यत्ति धेरै कहिल्यै खाइएको थिएन। भोकभन्दा पनि अत्यास लागिरहेको छ। केही चपाइरहन मन लाग्ने। खै के हो। के भइरहेको छ आफैंलाई बुझ्न सकिरहेको छैन। हिजो त्यत्ति मज्जाले भुलेको लुडो खेल्दा आज त्यो पनि दिक्क लाग्यो। सबै सुनसान छ।
बहिनी घरी टिकटक चलाउँछे। घरी फिल्म हेर्छे। मेरो हालत त्यस्तै छ। घरमा फोन गर्यो, फोन राख्न चाहनुहुन्न। कोरोना लाग्ला, बाहिर ननिस्कनु। भनिराख्ने चाँही यत्ति हो। मामाघरतिर फोन गर्यो। बुढी हजुरआमा भन्नुहुन्छ– ‘मुखमा के जाती लगाउने भन्छन्। लगाओ है।’ (मास्क क्या !)
पाँचौ दिन
आज बिहानै उठेर हामीले योग गर्यौं। नुवाईधुवाई गर्यौं। खाना बनायौं। खायौं। ज्या ! बल्ल साढे नौ भएको छ। फेसबुक खोल्यो, कति हेर्नु। दिक्क लाग्ने गरी। क्वारेन्टाइनको लागि नाटक, फिल्म सिफारिस, अनलाइन क्लास, साथीहरु र अग्रजहरुको लाईभ भिडियो। ओहो ! भुल्ने कुरा कति धेरै छन्। तर अहँ कतै भुल्न सकिरहेकै छैन मन। अरुहरुको पनि यस्तै हालत छ कि? लेखक रामलाल जोशीले भन्नुभएको थियो– यो समय सिर्जनशील काम गर्नै सकिँदैन। प्र्राथना गर्ने समय हो। माटोसँग खेलिरहेको छु। तर सकेको छैन।
साँच्चै, यो समय केही गर्नै सकिरहेको छैन। हामी हाँस्ने बाहाना खोजिरहेका छौं। दुई जनामा कोरोना संक्रमण। ओहो ! कस्तो डरलाग्दो अवस्था। विश्वभर कोरोनाको कारण १८ हजारको मृत्यु भइसकेको छ। संक्रमितहरु ५ लाखको हाराहारीमा। कति डरलाग्दो अवस्था। कोरोनाले उदण्डता देखाइरहेको छ।
छैटौं दिन
दिनहरु यसरी नै बितिराछन्। फेसबुक खोल्छु, सबैको गुनासो उस्तै छ। न कतै जमघट गर्ने महोल छ न केही कुरामा एकाग्र भएर लागिरहने। हामीहरु सबदेखि वाक्क भइसक्यौं। सुत्न पाउँदा कति रमाइलो हुने थियो। बसीबसी खान पाए भन्ने पनि लाग्न छोड्यो। कर्मभन्दा गतिशील केही छैन। हामी केही नगरी बस्न सक्दैनौं। अनि प्रकृतिभन्दा ठूलो केही छैन। प्रकृतिलाई जित्ने कोशिसमा हामी पटकपटक हारिसकेका छौं। हामीले अब प्रकृतिसँग सहकार्य गर्नुपर्छ भन्ने सिकाएको छ कोरोनाले।
बहिनी अहिले ‘पावर अफ सबकन्सियस’ पढ्न थालेकी छ। होइन, होइन। ऊ सुन्छे। आज खाना खान लागेको मात्र थिए, उसले भनी– ‘दिदी Û हामी भगवान्प्रति आभारी हुनुपर्छ। यतिको खान पाएको पनि भगवान्को कृपाले हो। भगवान्लाई धन्यवाद भन्नु।’ ऊमात्रै होइन, म पनि अचेल धेरै भगवानलाई सम्झिन्छु। हामी दुखमा मात्रै सम्झन्छौं। कति रिस उठ्दो हो, यदि भगवान् साँच्चै छन् भने।
सातौं दिन
यो लकडाउनले राम्रो पनि भएको छ। कम्तिमा अल्छिपन हराएको छ। सुत्न फिटिक्कै मन लाग्दैन। फेसबुक चलाउँदा चलाउँदा दिक्क लागेको छ। केही नयाँ साथी बनाऊँ। केही नयाँ कुरा सिकौँ भन्ने जाँगर पनि छैन। बरु आज कलेजका साथीहरुलाई सम्झिएँ। उनीहरुको राम्रोको कामना गरेँ।
हजुरबुवाले भन्नुभएको थियो– मान्छे जब मर्नेबेला हुन्छ, उसलाई जो पनि मनपर्छ। जे पनि राम्रो लाग्छ।
मलाई अहिले फेसबुकमा मन नपर्ने पनि कोही छैनन्। जसको पनि माया लाग्छ। बाँचियो भने सब फेसबुकमा बोल्नदेखि लिएर आफ्नो जिन्दगीमा ठोक्किने सबलाई एकै ठाउँमा राखेर पार्टी गर्न मन छ। छ्या ! यस्तो त सकिँदैन होला है। म पनि केके सोचिबस्छु।
साँच्चै, मान्छेहरु कति सुन्दर छन्। उनीहरुको मन कति सुन्दर छ। नराम्रो भन्नुमा मेरो स्वार्थ मिसिएर पो हो कि?
फेरि लकडाउन एक हप्तालाई लम्बिने भयो। उफ्….!
आठौं दिन
भारतबाट आउने नेपालीहरुलाई सरकारले सीमाबाटै फर्कायो भन्ने समाचार सुन्नमा आइराछ। लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले हानेको भन्ने समाचार आइराछ। विदेशमा हुनेहरु नेपाल आउन नपाएर छटपटाइरहेका छन्।
सहरमा हुनेहरु गाउँ जान नपाएर छटपटाइरहेका छन्। नेपाल हुनेहरु विदेशका आफ्ना साथीभाइ, आफन्त सम्झेर छटपटाइरहेका छन्। हामी एकले अर्कोको चिन्ता गरेर छटपटाउनु परेको अवस्था छ।
यो समय साँच्चै प्राथनाको समय छ।
बाहिरबाट नेपाल आएकालाई क्वारेन्टाइनमा १५ दिन नराखी घर फर्कन नदिने भनेर सरकारले निगरानी राखेको समाचार छ। स्वाथ्यकर्मी साधनस्रोतको अभावमा पनि आफ्नो काम गरिरहेका छन्। सेना, प्रहरी पनि आफ्नो कर्तव्य निभाइरहेका छन्। बरु सरकारले भ्रष्टचार गरेको सुन्नमा आइराछ। के के हो केके। बरु केही सुन्न नपरे हुने नि।
कपडा छतमा सुकाएका थियौं। पाँचबजेतिर भूमरी चल्यो। पानी पर्ला जस्तो भयो। बहिनी आत्तिदैं आई। ‘दिदी, यो पृथ्वी अब साँच्चै ध्वस्त हुन्छ। हामी रहँदैनौ।’
हामी कोरोनाको महामारी र प्रकृतिक प्रकोपमा पर्यौं भने के होला? हामी मर्यौं भने के होला यो पृथ्वी? आङ सिरिङ भयो है। आफ्नो मृत्युको कल्पना गर्न किन सक्दैनौँ हामी?
मलाई मर्न डर लाग्छ।
नवौ दिन
ध्यान गर्नु, योग गर्नु, बिहानै उठेर नुवाईधुवाइ गर्नु, पूजापाठ गर्नु, खान बनाउनु, खानु। बिहान यत्तिकै बित्छ।
दिउँसो भुल्नलाई टिकटक, भिडियो च्याट, समाचार पोर्टलहरु, युटुबहरु अझ पुगेन भने डेटिङ एप्स पनि छ। नयाँ एप्स चलाउन सिक्न मन लाग्छ भने या केही नचिनेको मान्छेसँग बोलेर समय बिताऊ भन्ने लाग्छ भने… होइन।
मलाई केही गर्न मन भएन। खाटमा घाम आएको थियो। म मस्त निदाएछु। आज राति पो सुत्ने कसरी? बहिनी किचेनमा नयाँ नयाँ आइटम बनाइराख्छे। आज उसले परौठा बनाई। बिर्सेको, हिजो उसले पास्ता बनाएकी थिईँ। दिउँसो खाजा बनाउन अल्छी गर्ने हामीहरु पकाउन र खानमा व्यस्त छौं।
कति मान्छे भोकै छन्। यस्तो सोच्यो भने खान मन लाग्दैन।
सरकारले राहत बाँड्ने भनेको के गरिराछ हँ?
दशौं दिन
आज बझाङमा भुँइचालो गयो भनेर अनलाइनमा पढें। प्रधानमन्त्रीका सल्लाहकारले अनधिकृत रुपमा समाचार हटाए। सरकारले कोरोना किट परीक्षणको लागि चाहिने स्वास्थ्य सामाग्रीमा भ्रष्टचार गरेको आरोप आएपछि सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिइयो। के हेरिराख्नु समाचार। संकट परेकै बेलामा नचाहिदोँ अभाव सिर्जना गर्ने काम नभएको कहिले हो र?
हिजो अप्रिल फस्टमा एउटा केटासँग इन रिलेसनसीप भनेर राखेको थिएँ। आज होइन भनेर लेख्दालेख्दै हैरान भएँ। साथीहरु फेसबुकमा लुडो खेल्न इन्भाइट गरिराख्छन्।
हामीलाई साथ चाहिएको छ। लकडाउन खुलेपछि सबैभन्दा पहिले कसलाई भेट्ने होला? के गर्ने होला? मलाई बन्जी जम्प हान्न मन छ। बहिनी पशुपति गएर धन्यवाद भन्ने भन्दैछ। ऊ कसरी यस्ती भई?
अस्ति भूमरी आउँदा बत्ती नहुँदा बहिनी र म कुरा गर्यौं। उसले साह्रै निराश कुरा गरी। सम्पत्ति कमाएर पनि क्यार्नी हो? मलाई त कोरोनाले लगे हुन्थ्यो दिदी। बाँच्यो भने पाप मात्रै गरिन्छ।
केके बोल्छे है। केके सोच्छे।
मलाई पनि बाँच्नु निरर्थक जस्तो लागिराछ। देशको हालत यस्तो छ। विश्वमा यस्तो छ। हाम्रोमा ६ जनामा कोरोना भेटियो। पश्चिमा देशमा मान्छे मरिरहेकै छन्। तिनीहरुसँगै कति सपना मरें।
एघारौं दिन
अब बिहान चार बजेदेखि मात्रै आठ बजेसम्म मात्रै पसल खुल्छ। बिहानै ल्याउनुपर्छ बेलुकाको लागि तरकारी। हामी घरबाट बाहिर ननिस्कनेमा अभ्यस्त भइसक्यौ।
सबदेखि वाक्क लागिसक्यो। यो कोठा। यो समाचार। यो फेसबुक। टिकटक। इन्स्टाग्राम। ट्वीटर। भाइबर। उफ्। मन आत्तिएको बेला केही मन पर्दैन। सबैभन्दा सुन्दर मान्छे हुन्छन्। मान्छेले बनाएका यी सब कुराहरुको आयु कति छोटो छ। सिनेमा हल, थियटर हल, जिमहल, कलकारखाना, स्मार्ट मार्टहरु, बैंकहरु सबै बन्द छ। सबै बन्द भयो भने? सधैँ यस्तो भयो भने? गाडीहरु कहिल्यै चलेनन् भने? मान्छे बाँच्छ। गाउँमा गएर खानको लागि दुख गरे भइहाल्यो। खान पाएसी बाँचिन्छ। गीत, संगीत, किताब, सिनेमा, फेसबुक, फोन सबै सेकेन्डरी कुरा हुन्।
पहिलो प्राथमिकता हो– भोक अर्थात् खाना।
मान्छे खानाको लागि यत्ति दुख गरिरहेको छ। तर यत्ति जटिल पनि छैन जीवन। दुई छाक खानको लागि दिनरात सहरमा घोटिरहेका छौं। हामी माटोमा पो घोटिनुपर्ने हो नि हैन?
केके सोच्छु म पनि।
Source: ekantipur.com