बजेटमा चितवनका तीन महत्वपूर्ण योजना

भरतपुर, १५ जेठ
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गरेको छ । स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई विशेष महत्व दिइएको बजेटको विस्तृत विवरण बजेट पास भएर रातो किताब प्रकाशित भएपछि नै थाहा हुनेछ ।

तर, अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको सरकारको आयव्ययको संक्षिप्त विवरणमा चितवनका तीन आयोजना उल्लेख छन् ।
बजेटमा भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थलका रुपमा विकास गर्ने भनिएको छ । यहाँको विमानस्थल विस्तार गर्ने विषय लामो समयदेखि बहसमै छ । त्यसका लागि कयौंचोटि अध्ययन पनि भएका छन् । प्रादेशिकस्तरको बनाउने भनेको के हो भन्ने त निश्चित छैन । तर, बजेटमा त्यसका लागि रकम छुट्याइएको भनिएको छ ।

त्यस्तै पूर्वी चितवनको कालिका नगरपालिकामा निर्माणाधीन औद्योगिक क्षेत्रको कामलाई निरन्तरता दिने विषय पनि बजेटमा समेटिएको छ । यो गत आर्थिक वर्षमा पनि थियो ।

काठमाडौंमा गत आर्थिक वर्षदेखि भूमिगत गर्न थालिएको बिजुली बत्तीको तार भूमिगत गर्ने योजना यसपालि भरतपुरमा पनि सुरु गर्ने भनिएको छ ।

  • भन्नलाई बजेटमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशालाका लागि पनि बजेट छुट्याएको भनिएको छ । तर, त्यसले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सम्बोधन गर्छ कि गर्दैन भन्ने अहिले निधो छैन ।